किताब

एक दिन एउटा बालकले आफूलाई रामायण, महाभारतको कथा लगायत विश्वको घटनाक्रमहरू सहित सधैँ ज्ञानगुनका कुरा सिकाउने तर आँखा नदेख्ने कवि काकालाई भन्छन्- काका, म त तपाइकोलागि मर्नसम्म तयार छु। 

जवाफमा उनको काकाले भन्नुहुन्छ- हैन हैन! तिमी मर्ने कुरा नगर बरु केही राम्रो गर्ने कुरा गर । किनकि एक दिन हामी सबै जना यो भौतिक शरीरलाई त्याग्ने नै छौ । यहाँ केही अमर रहने छ भने त्यो हो हामीले गरेर गएका कामहरू । हेर, यहाँ मर्न सजिलो छ तर बाँच्न गाह्रो छ । बाँच्न पनि सजिलो छ तर केही गर्न गाह्रो छ । अझ गर्न पनि सजिलो छ तर इतिहासमा नाम लेखिने गरी गर्न निकै गाह्रो छ । 

तिमीले आफ्नो उठाउठ र देशको नाम राख्ने गरी हामी सबैले गर्व गर्ने काम गर्न सक्यौ भने बुझ्नु तिमीले मेरोलागि सब थोक गर्‍यौ । र, बुझ्नु तिमीले आफ्नो राम पायौ, तिम्रो कृष्ण पायौ । यही नै जीवन हो। 

यही वार्तालापबाट प्रेरित भई सुरु भएको यात्रा सर्लाही जिल्लाको सानो र विकट गाउँ देखी काठमान्डुसम्म, काठमान्डु देखी अमेरिकाको सडकसम्म र अमेरिकाको सडकलाई नै पाठशाला बनाइ सजिलै उत्तीर्ण गर्न नसकिने विश्वको परीक्षाहरू मध्ये एक CISCO परीक्षा पास गर्ने पहिलो नेपाली इन्जिनियर हुन सुनिलकुमार झा ! 

यो प्रमाणपत्र पाउनुलाई नेटवर्किङ विषयमा PhD गरे सरह मान्यता प्राप्त छ । 
सिस्को प्रणालीद्वारा सञ्चालित यो कार्यक्रम सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका छन् । 

सहजै उत्तीर्ण हुन नसकिने विश्वका उत्कृष्ट १० परीक्षाहरू मध्ये सिस्को प्रमाणपत्रको लागि लिइने परीक्षा पनि एको हो । प्रस्तुत छ ५ वर्षसम्म निरन्तर अध्ययन अनुसन्धान तथा २ महिनासम्म दैनिक १२ घण्टा प्रयोगशालामा बसेर अभ्यास गरेका नेपालका सिस्को सर्टिफाईड इन्टरनेट नेटवर्किङ विज्ञ सुनिलकुमार झाको सङ्घर्ष र सफलताको कथा।

साथीहरू, यसै सन्दर्भमा सुनिल झा भन्नुहुन्छ म सानो छँदा आफ्नो कविकाका सडानन्द झाबाट रामायण, महाभारतका कथाहरू सुन्ने गर्थे । कवि काकाले एकलव्यको वर्णन पनि गर्नुहुन्थ्यो कि कसरी एकलव्यले बिना गुरु नै आफ्नो शिक्षा पुरा गरी धनुरविद्याामा निपुर्ण भएको थियो। जसरी एकलव्यले बिना गुरु र पाठशाला ज्ञान हासिल गर्‍यो । त्यसरी नै आफूले गुरु बिना नै सडकमा बसेर पढेकोले अमेरिकाको सडक पनि मेरो लागि पाठशाला हो!

कवि काकाले गांउकै एउटा कथा पनि सुनाउनुभएको थियो कि एक चोटि गांउमा एउटा अमेरिकन आएको थियो । गांउलेहरु सबै जना उसलाई हेर्न आएको थियो । उनीहरूलाई थाहा थिएन कि यो अमेरिकन धनी हो कि गरिब हो, शिक्षित हो कि अशिक्षित हो तर देशको नामले गर्दा उसको पनि इज्जत बढेको थियो । यस कथाले मलाई उच्च लक्ष्य लिन र मेहनत गर्न प्रेरित गर्‍यो कि मैले राम्रो गर्दा परिवार, गांउ र राष्ट्रकै नाम उच्च हुने रहेछ ।

यसै सन्दर्भमा सुनिल झाको जीवनी लेखक भन्नुहुन्छ वहाँको जीवनी लेख्दा मलाई प्रत्येक विद्यार्थीको लागि सफलता भनेको के रहेछ, सफल हुन मेहनत र सङ्घर्ष भनेको कतिको महत्त्वपूर्ण रहेछ भन्ने थाहा पाए । वहाँको कथा विदेश गएको नेपाली विद्यार्थीको जीवन सङ्घर्ष, सपना र सफलताको उत्कृष्ट उदाहरण हो ।